काभ्रे । नेवा: समुदायको मौलिक भाषा, कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बेथानचोकमा तीन महिने नेपाल भाषा प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ।
भिम:देव:नेवा:समाज बेथानचोकको आयोजनामा गाउँपालिकाभित्र बसोबास गर्ने नेवा: समुदायलाई लक्षित गरी सञ्चालन गर्न लागिएको उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो।
भिम:देव:नेवा:समाजको प्राङ्गणमा आयोजित कार्यक्रम बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्य तथा उपाध्यक्ष तारा राना तिमल्सिनाको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा वडा अध्यक्षहरू कृष्णबहादुर लामा र कुबेर ढकाल, जनजाति महासंघ बेथानचोकका अध्यक्ष हरिचन्द्र वाइवा, नेवा: देय् दबु जिल्ला कार्यसमितिका अध्यक्ष निवास श्रेष्ठ, पनौती नगर अध्यक्ष पुरुषोत्तम कर्माचार्य, बनेपा नगर अध्यक्ष बुद्धरत्न मानन्धरलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अतिथिहरूले नेपाल भाषा, कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा संवर्द्धन गर्नु आजको आवश्यकता भएको बताए। नयाँ पुस्तामा मातृभाषाको ज्ञान हस्तान्तरण गर्न यस्ता प्रशिक्षण कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो। साथै, कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै आयोजक संस्थाको पहलको प्रशंसा गरेका थिए।
कार्यक्रममा भिं:द्यं: धिमे तथा बाँसुरी खलका भाइबहिनीहरूले प्रस्तुत गरेको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र सांस्कृतिकमय बनाएको थियो।
संस्थाका अध्यक्ष रामहरि श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम संस्थाका छवि श्रेष्ठले सञ्चालन गरेका थिए।
तीन महिनासम्म सञ्चालन हुने यस प्रशिक्षण कार्यक्रमले बेथानचोक क्षेत्रमा नेपाल भाषाको ज्ञान विस्तार गर्नुका साथै नयाँ पुस्तामा मातृभाषाप्रतिको रुचि र जागरण बढाउन तथा नेवा: समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।




