आइतबार, मंसिर ०६, २०८३
धुलिखेल–३ मा निःशुल्क स्वास्थ्य शिविर, २२७ जना वडावासीले लिए सेवा

काभ्रे । धुलिखेल नगरपालिका वडा नं. ३ को आयोजना तथा KMC अस्पतालको सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट २२७ जना वडावासी लाभान्वित भएका छन्।

शिविरमा भिडियो एक्स–रे, ईसीजी, दन्त सेवा, स्त्रीरोग, जनरल मेडिसिन, बालरोग, ल्याब परीक्षण, नाक–कान–घाँटी, आँखा परीक्षण, हाडजोर्नी तथा जनरल सर्जरीलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको थियो।

शिविरमा प्रदान गरिएका सेवामध्ये भिडियो एक्स–रे ६८ जना, ईसीजी ४५ जना, दन्त सेवा ५६ जना, स्त्रीरोग सेवा ५५ जना, जनरल मेडिसिन ४४ जना, बालरोग सेवा १२ जना, ल्याब परीक्षण ६७ जना, नाक–कान–घाँटी २४ जना, आँखा परीक्षण ४७ जना, हाडजोर्नी सेवा ५२ जना र जनरल सर्जरी १५ जनाले लिएका छन्।

शिविरमार्फत स्थानीयवासीको स्वास्थ्य परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो। स्वास्थ्य शिविर सञ्चालनमा महत्वपूर्ण सहयोग पुर्‍याएको भन्दै वडा अध्यक्ष गणेश आचार्यले KMC अस्पताल परिवारप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

त्यस्तै, गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर जुटाएको भन्दै स्थानीयवासीले वडा कार्यालय तथा वडा अध्यक्षप्रति धन्यवाद व्यक्त गरेका छन्। स्थानीयको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको शिविरले सर्वसाधारणलाई स्वास्थ्य सेवाको पहुँचमा सहजता थपेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय