काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले सेमेस्टर प्रणालीमा आधारित मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) र मास्टर अफ पब्लिक एडमिनिस्ट्रेशन (एमपीए) कार्यक्रमको प्रवेश परीक्षा–२०८३ को कार्यतालिका सार्वजनिक गरेको छ।
भर्ना वर्ष २०८३ का लागि दुवै कार्यक्रम सञ्चालन हुने क्याम्पस तथा कलेजहरूमा भर्ना प्रक्रिया सुरु गरिएको संकायले जनाएको छ।
सार्वजनिक कार्यतालिकाअनुसार इच्छुक विद्यार्थीले २०८३ मङ्सिर ७ गतेदेखि पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन्। प्रवेश परीक्षा भने पुस २५ गते शनिबार बिहान ८ बजे सञ्चालन हुनेछ। नयाँ शैक्षिक सत्रको नियमित कक्षा माघ १८ गतेदेखि सुरु हुने जनाइएको छ।
प्रवेश परीक्षामा भर्बल एबिलिटी, क्वान्टिटेटिभ एबिलिटी तथा बिजनेस एन्ड इकोनोमिक्स वा जनरल अवेयरनेस विधाबाट २५/२५ वटा बहुवैकल्पिक प्रश्न सोधिनेछन्।
स्नातक तहको परीक्षामा सहभागी भई नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीले समेत प्रवेश परीक्षामा सहभागी हुन पाउनेछन्। तर, क्याम्पसमा भर्ना हुने समयमा स्नातक तह उत्तीर्ण गरेको ट्रान्सक्रिप्ट अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
विद्यार्थीले व्यवस्थापन संकायको आधिकारिक वेबसाइट www.tudoms.org मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन शुल्क १ हजार ५०० रुपैयाँ तोकिएको छ। परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण पछि वेबसाइटमार्फत सार्वजनिक गरिने संकायले जनाएको छ।





