सुशासनको सपना बेचेर सत्तामा पुगेको रास्वपा सरकारका आठ महिना : जनअपेक्षा, शासकीय कार्यशैली र निराशाको समीक्षा ।
भूमिका:
राजनीतिमा जनताको आशा जित्नु सजिलो होला, तर त्यसलाई परिणाममा बदल्नु निकै कठिन काम हो । चुनावका बेला मीठा सपना बाँड्न, आकर्षक नारा लगाउन र परिवर्तनको हुटहुटी जगाउन धेरै मेहनत गर्नु पर्दैन । तर सत्तामा पुगेपछि जनताको जीवनमा अपेक्षित परिवर्तन अनुभूति गराउनु, राज्यका संस्थालाई बलियो बनाउनु, भ्रष्टाचार नियन्त्रण गर्नु, विधिको शासन स्थापित गर्नु र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउनु भने निकै कठिन हुँदोरहेछ ।
नेपालको राजनीतिमा पुराना स्थापित राजनीतिक दल र तिनका नेतृत्वप्रति बढ्दै गएको असन्तुष्टि, आक्रोश, बेथिति र सुशासनको अभावलाई चुनावी मुद्दा बनाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन्द्र शाह नेतृत्वको सरकार सत्तामा पुग्यो । सरकारले काम गर्न पर्याप्त राजनीतिक शक्ति र अवसर पनि प्राप्त गर्यो । तर नयाँ सरकार गठन भएको आठ महिना बित्दै गर्दा जनताको मनमा एउटा गम्भीर प्रश्न उठिरहेको छ– सुशासनको सपना देखाएर सत्तामा पुगेको नयाँ भनिनेहरूको सरकारले जनतालाई आठ महिनासम्म सुशासनको अनुभूति कति गराउन सक्यो ?
सरकारको मूल्याङ्कन भाषण, प्रचार, सामाजिक सञ्जालका पोस्ट वा नेताको लोकप्रियताबाट हुँदैन । त्यसको मापन जनताको दैनिक जीवनमा आएको परिवर्तन, राज्यका संस्थाको कार्यक्षमता, कानुनको समान प्रयोग र सार्वजनिक जवाफदेहिता बाट हुन्छ । वर्तमान बालेन नेतृत्वको रास्वपा सरकारलाई यही कोणबाट हेर्दा उपलब्धि भन्दा प्रश्न र आशा भन्दा निराशाका विषय बढी चर्चामा आइरहेका छन् ।
पुरानालाई सराप्न जानेर मात्रै नयाँको योग्यता प्रमाणित हुँदैन:
नेपाली जनताले कांग्रेस, एमाले, माओवादी लगायतका पुराना स्थापित राजनीतिक दललाई पटक–पटक अवसर दिए । तर राजनीतिक अस्थिरता, भ्रष्टाचार, नातावाद, कृपावाद, भागबन्डा, कुशासन र जनताका आधारभूत समस्या प्रतिको उदासीनताले उनीहरू प्रतिको विश्वास कमजोर बनाउँदै लग्यो । त्यसैले जनताले विकल्प खोजे र नयाँ राजनीतिक शक्ति तथा नयाँ नेतृत्व भनिएकाहरूलाई अवसर दिए ।
तर यहाँ एउटा कुरा बुझ्न र प्रमाणित हुँदै छ कि– केवल पुराना दल प्रतिको आक्रोशले मात्रै नयाँ नेतृत्वको योग्यता स्वतः प्रमाणित गर्दैन । पुरानाले गल्ती गरेका छन् भन्दैमा नयाँलाई गल्ती गर्ने छुट पनि हुँदैन । अनि पुरानाले ३५ वर्षसम्म सुशासन दिन सकेनन् भन्दैमा नयाँले यति छिट्टै के दिन सक्थे र भनेर नयाँ सरकारको असफलता प्रति आँखा चिम्लिन पनि मिल्दैन ।
राजनीतिमा एउटा भनाइ छ– “रिस खा आफू, बुद्धि खा अर्को ।” सायद यतिखेर पुराना प्रतिको रिस र आक्रोशमा विवेक प्रयोग नगरी निर्वाचनमा गरिएको निर्णयले अन्ततः जनतालाई पनि आफ्नो निर्णयबारे पुनर्विचार गर्न बाध्य बनाएको छ ।
नयाँ नेतृत्वले आफूलाई पुराना भन्दा फरक प्रमाणित गर्नु पर्ने थियो । तर फरक देखिनु र फरक हुनु एउटै कुरा होइन रहेछ । नयाँ अनुहार, नयाँ दल र नयाँ चुनाव चिह्न हुँदैमा शासनको चरित्र स्वतः नयाँ हुँदोरहेनछ । पुरानै राजनीतिक संस्कार नयाँ अनुहारमा दोहोरिन थालेपछि सुशासन र परिवर्तनको नाराको औचित्य के रह्यो र ?
सय दिनमा सय कामको घोषणा गर्ने, तर आठ महिनामा उपलब्धिको हिसाब कती ?
बालेन नेतृत्वको सरकार गठन हुँदा सय दिनमा सय काम गर्ने र शासन सुधारका विभिन्न प्रतिबद्धता सार्वजनिक गरिएको थियो । सुशासन र प्रशासनिक सुधारका नाममा प्रस्तुत गरिएको यो योजनाले जनतामा ठूलो अपेक्षा जगाएको पनि थियो । तर घोषणा र कार्यान्वयन बीचको दूरी कति छ भन्ने प्रश्न अहिले पनि उत्तिकै महत्त्वपूर्ण छ ।
वास्तवमा सय दिनमा सय कामको घोषणा गर्नु मात्र उपलब्धि होइन । त्यसको कार्यान्वयन, परिणाम र जनताले अनुभव गर्ने परिवर्तन नै वास्तविक उपलब्धि हो । सरकारले आफूले गरेका कामको सूची सार्वजनिक गर्न सक्छ, तर सूची लामो हुँदैमा जनताको जीवन सहज भएको प्रमाणित हुँदैन । जनताले खोजेको कुरा भाषण र सामाजिक सञ्जालको स्टाटसमा सुशासन होइन, व्यवहारमा सुशासन हो । घोषणा होइन, परिणाम हो । प्रचार होइन, काम हो ।
सरकारले आफ्नो उपलब्धि प्रस्तुत गर्दा कति काम सुरु भए, कति सम्पन्न भए, कति प्रभावकारी भए र कति असफल भए भन्ने कुरा पनि स्पष्ट पार्नु पर्छ । असफलता लुकाएर उपलब्धिको प्रचार गर्नु पारदर्शिता होइन । जनताले प्रश्न गर्दा आलोचना सहन नसक्नु जवाफदेहिता होइन । किनभने पुरानो भनिएको एमालेको नौ महिने शासनकालमा भएका र आजसम्म जनताले लाभ लिइरहेका सुशासन तथा जनमुखी कामका उदाहरण पनि सबैका अगाडि छन् ।
भ्रष्टाचार नियन्त्रण देखि सार्वजनिक सेवा प्रवाह सम्म प्रश्नैप्रश्न:
यो सरकार सत्तामा पुग्नुको प्रमुख आधार नै सुशासनको वाचा थियो । भ्रष्टाचारको अन्त्य, अनियमितता माथि कारबाही, सरकारी कार्यालयमा हुने ढिला सुस्तीको अन्त्य, पारदर्शी प्रशासन र जनतालाई सहज सेवा दिने प्रतिबद्धताले जनताको विश्वास जितेको थियो । त्यसैले अहिले सरकारको सबै भन्दा महत्त्वपूर्ण मूल्याङ्कन यही विषयमा हुनु पर्छ ।
भ्रष्टाचार नियन्त्रणको अर्थ विरोधी दलका नेता वा आफूलाई मन नपरेका व्यक्ति माथि आरोप लगाउनु मात्र होइन । भ्रष्टाचारका आशंका उठेका सबै विषयमा निष्पक्ष छानबिन हुनु, दोषी प्रमाणित भएकालाई कानुन अनुसार कारबाही हुनु र निर्दोषलाई राजनीतिक प्रतिशोधबाट सुरक्षित राख्नु नै सुशासनको आधार हो ।
सरकारले भ्रष्टाचार नियन्त्रणमा के–के ठोस कदम चाल्यो ? कुन–कुन अनियमितता माथि निष्पक्ष छानबिन भयो ? सार्वजनिक पदमा नियुक्ति गर्दा कुन मापदण्ड अपनाइयो ? सरकारी निर्णय र खर्चमा कति पारदर्शिता कायम भयो ? सार्वजनिक खरिद र विकास आयोजनामा कस्तो सुधार आयो ? यी प्रश्नको स्पष्ट र तथ्यपरक जवाफ सरकारले जनतालाई दिनु पर्छ ।
सुशासन भनेको भ्रष्टाचार विरुद्ध सामाजिक सञ्जालमा चर्को स्वरमा अभिव्यक्ति दिनु मात्र होइन । आफू निकट व्यक्ति वा समूहका विषयमा पनि उही कानुन र उही मापदण्ड लागू गर्नु हो । आफ्नो पक्षका लागि एउटा र विपक्षका लागि अर्को व्यवहार गर्ने हो भने त्यो सुशासन होइन, सुविधा अनुसारको शासन हो ।
त्यस्तै, ‘नो लाइन, ओन्ली अनलाइन’ भन्नेहरूको शासनमा सरकारी कार्यालयमा सेवा लिन जाने नागरिकले अझै पनि अनावश्यक झन्झट, ढिलासुस्ती र प्रक्रियागत कठिनाइ भोग्नु परिरहेको छ । नागरिकले सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, सामान्य कामका लागि पटक–पटक कार्यालय धाउनुपर्ने र जिम्मेवार कर्मचारीबाट जवाफ नपाउने अवस्थाको अन्त्य कहिले हुन्छ ? के त्यसको दोष पनि ३५ वर्षलाई दिएर पन्छिन मिल्छ ?
सुशासनको वास्तविक अनुभूति नागरिकले सरकारी कार्यालयको ढोकामा पाउनुपर्छ । अस्पताल, विद्यालय, मालपोत, यातायात, स्थानीय प्रशासन र सार्वजनिक सेवा प्रवाह हुने हरेक ठाउँमा पाउनुपर्छ । भ्रष्टाचार नियन्त्रणको प्रभाव नागरिकले सरकारी कार्यालयमा पाउने व्यवहारमा देखिनुपर्छ । सुशासनको नारा लगाएर सत्तामा पुग्नु र सुशासन कायम गर्नुबीच आकाश–जमिनको फरक छ भन्ने कुरा सरकारले बुझ्नुपर्छ ।
संसद्मा बहुमत हुँदा पनि अध्यादेशको बाटो किन ?
सरकारसँग संसद्मा बलियो राजनीतिक समर्थन र पर्याप्त बहुमत रहेको अवस्थामा संसद्लाई प्रभावकारी बनाउनु स्वाभाविक अपेक्षा हो । संसद् जनताको सार्वभौम प्रतिनिधित्व गर्ने सर्वोच्च विधायिकी संस्था हो । कानुन निर्माण, सरकारको निगरानी र सार्वजनिक बहसको मुख्य थलो पनि संसद् नै हो ।
तर संसद्मा पर्याप्त बहुमत हुँदाहुँदै पनि अध्यादेशको बाटो रोज्ने प्रवृत्तिले सरकारको संसदीय प्रतिबद्धता माथि प्रश्न उठाउँछ । अध्यादेश संविधानले व्यवस्था गरेको असाधारण विधायिकी उपाय हो । आवश्यक परिस्थितिमा यसको प्रयोग हुन सक्छ । तर संसद् चलिरहेको अवस्थामा र सरकारसँग पर्याप्त बहुमत हुँदा पनि अध्यादेशलाई सहज विकल्प बनाउनु लोकतान्त्रिक अभ्यासका दृष्टिले प्रश्नरहित विषय होइन ।
सुशासनको अर्थ सरकारलाई मन लागेको निर्णय तुरुन्त लागू गर्नु मात्र होइन । निर्णय गर्दा विधि, प्रक्रिया, संस्थागत मर्यादा र लोकतान्त्रिक उत्तरदायित्वको पालना गर्नु पनि हो । संसद्लाई छलफल र सहमतिका लागि उपयोग गर्न नसक्ने, आलोचनालाई अवरोध ठान्ने र निर्णय प्रक्रियालाई एकलौटी बनाउन खोज्ने हो भने नयाँ राजनीतिक संस्कारको दाबी कसरी पत्याउने ?
कानुनको शासन कि लोकप्रियताको शासन ?
सुशासनको अर्को आधार हो– विधिको शासन । राज्यमा व्यक्ति होइन, कानुन सर्वोपरि हुनुपर्छ । प्रधानमन्त्री देखि सामान्य नागरिक सम्म सबै कानुनको दायरा भित्र रहनुपर्छ । सरकारको निर्णय लोकप्रिय छ कि अलोकप्रिय भन्ने आधारमा होइन, त्यो संविधान र कानुन सम्मत छ कि छैन भन्ने आधारमा मूल्याङ्कन हुनुपर्छ ।
बालेन्द्र शाह नेतृत्वको सरकारका निर्णय र कार्यशैलीबारे सार्वजनिक रूपमा उठेका कतिपय प्रश्न यही विषयसँग सम्बन्धित छन् । जनताले रुचाएको निर्णय पनि कानुन सम्मत हुनुपर्छ । जनताले मन नपराएको व्यक्ति माथि गरिएको कारबाही पनि कानुनी प्रक्रिया अनुसार नै हुनुपर्छ ।
कानुनको शासनमा सरकारलाई पनि सीमा भित्र राखिन्छ । सरकार सँग शक्ति छ भन्दैमा त्यो शक्ति असीमित हुँदैन । लोकप्रियता छ भन्दैमा कानुनी प्रक्रिया मिच्ने छुट हुँदैन । जनताको समर्थन प्राप्त हुनु र संविधान भन्दा माथि हुनु फरक कुरा हुन् ।
सरकारले आफ्नो निर्णय सही छ भन्ने ठान्छ भने त्यसको कानुनी आधार र औचित्य जनतासामु स्पष्ट पार्नुपर्छ । आलोचना गर्नेहरूलाई विरोधी ठान्ने, प्रश्न उठाउनेलाई शत्रु सम्झने र असहमतिका आवाजलाई कमजोर पार्ने प्रवृत्ति लोकतान्त्रिक संस्कार र सुशासन होइन ।
सुकुम्बासी व्यवस्थापनमा : डोजर चलाउनु मात्र समाधान हो त ?
सहरको अतिक्रमण हटाउने, सार्वजनिक जग्गा संरक्षण गर्ने र अव्यवस्थित बस्ती व्यवस्थापन गर्ने विषयमा सरकार कठोर हुनु पर्ने हो । सार्वजनिक सम्पत्ति संरक्षण गर्नु राज्यको दायित्व हो । तर त्यसो भन्दैमा नागरिकको जीवन, आवास र मानवीय संवेदनालाई बेवास्ता गर्न मिल्दैन ।
सुकुम्बासी बस्ती हटाउने काम केवल डोजर चलाउने प्रशासनिक अभ्यास होइन । त्यससँग जोडिएका नागरिकको वास्तविक अवस्था पहिचान, वैकल्पिक आवासको व्यवस्था, बालबालिकाको शिक्षा, रोजगारी, स्वास्थ्य र सामाजिक सुरक्षाका प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छन् । के बालेन सरकारले यता ध्यान दिन सक्यो ?
हो,वास्तविक सुकुम्बासी र सार्वजनिक जग्गा अतिक्रमण गरेर लाभ लिन खोज्नेहरू बीच फरक छुट्याउनु पर्छ । तर भूमिहीन नागरिकको समस्या समाधान नगरी बस्ती हटाउनु समस्याको समाधान होइन, समस्यालाई अर्को ठाउँमा सार्नु मात्र हो ।
सरकारले कानुन कार्यान्वयन गर्नुपर्छ, तर मानवीय संवेदना सहित । राज्यको शक्ति नागरिकलाई विस्थापित गर्न मात्र होइन, नागरिकको समस्या समाधान गर्न प्रयोग हुनुपर्छ ।
सुशासनको अर्थ कठोर देखिनु होइन, न्यायपूर्ण हुनु हो । सरकारको सफलता डोजर कति चल्यो भन्नेबाट होइन, समस्या कति न्यायोचित ढङ्गले समाधान भयो भन्ने बाट मापन हुनुपर्छ । के त्यो भयो ?
प्रशासनिक सुधार : कर्मचारीतन्त्र सँग टकराव निम्त्याएर मात्र हुन्छ ? प्रणालीको सुधार गर्नु पर्दैन ?
नेपालको प्रशासनिक संयन्त्रमा बेथिति, ढिलासुस्ती, राजनीतिक हस्तक्षेप र जवाफदेहिताको अभाव पुरानै समस्या हुन् । त्यसैले प्रशासनिक सुधार जनताको प्रमुख अपेक्षा हुनु स्वाभाविक थियो ।
तर प्रशासनिक सुधार भनेको कर्मचारीतन्त्रसँग अनावश्यक टकराव गर्नु वा कर्मचारीलाई सार्वजनिक रूपमा आलोचना गर्नु मात्र होइन । स्पष्ट जिम्मेवारी, कार्यसम्पादन मूल्याङ्कन, पारदर्शी सरुवा–बढुवा, क्षमता विकास, प्रविधिको प्रयोग र कानुन सम्मत प्रशासनिक संरचना निर्माण गर्नु वास्तविक सुधार हो ।
कर्मचारीतन्त्रमा समस्या छ भन्दैमा सम्पूर्ण प्रशासनलाई एउटै डालोमा हालेर दोषी ठहर गर्न मिल्दैन । सुधारको नाममा मनोमानी निर्णय गर्न पनि मिल्दैन । प्रशासनलाई प्रभावकारी बनाउने हो भने संस्थागत प्रक्रिया र कर्मचारीको व्यावसायिक मर्यादा दुवैलाई ध्यान दिनुपर्छ ।
सरकारमा ऊर्जा हुनु राम्रो कुरा हो । तर ऊर्जा र आवेग एउटै होइनन् । काम गर्ने इच्छा हुनु सकारात्मक पक्ष हो, तर राज्य सञ्चालनका लागि अनुभव, संस्थागत समझदारी, कानुनी ज्ञान र निर्णयमा परिपक्वता पनि उत्तिकै आवश्यक हुन्छ । राज्य सञ्चालन सामाजिक सञ्जालमा पोस्ट लेखेजस्तो वा कुनै कार्यालयमा आदेश दिएजस्तो सरल हुँदैन । यहाँ एउटा निर्णयले हजारौँ नागरिकको जीवन प्रभावित हुन सक्छ । त्यसैले निर्णयमा हतार होइन, विवेक र जिम्मेवारी आवश्यक हुन्छ ।
युवालाई स्वदेशमै रोजगारीको सपना, तर विदेशिनु पर्ने बाध्यता उस्तै !
चुनावअघि रास्वपाका नेताहरूले युवालाई स्वदेशमै रोजगारी दिने, विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्ने र विदेशिएका युवालाई समेत स्वदेश फर्कने वातावरण बनाउने सपना बाँडेका थिए । पार्टीको वाचापत्रमै पाँच वर्ष भित्र १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता सार्वजनिक गरिएको थियो ।
युवाको श्रम, सीप र क्षमतालाई आफ्नै देशको विकासमा उपयोग गर्ने तथा विदेश पलायनलाई बाध्यता बाट विकल्पमा बदल्ने घोषणा गरिएको थियो । चुनावी सभामा युवालाई स्वदेश फर्काउने र देशमै भविष्य निर्माण गर्ने भाषण सुन्दा धेरैले यसपटक केही परिवर्तन होला भन्ने आशा गरेका थिए ।
तर सरकार गठन भएको आठ महिना बितिसक्दा पनि युवाले स्वदेशमै रोजगारी पाउने विश्वासिलो आधार कहाँ देखियो ? रोजगारी सिर्जना गर्ने उद्योगधन्दा विस्तारका ठोस कार्यक्रम कति अघि बढे ? कृषि, पर्यटन, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा युवालाई जोड्ने योजना कति कार्यान्वयन भए ? विदेशिएका युवालाई स्वदेश फर्काउने वातावरण निर्माणमा सरकारले के उपलब्धि हासिल गर्यो ?
पाँच वर्षको लक्ष्य आठ महिनामै पूरा हुनुपर्छ भन्ने होइन, तर त्यसको सुरुवात र परिणाम देखिने आधार त तयार हुनुपर्छ नि ! अझै पनि रोजगारीको खोजीमा युवाहरू राहदानी बोकेर विमानस्थलको लाइनमा उभिनुपर्ने, परिवार र जन्मभूमि छाडेर खाडी तथा अन्य मुलुक जानुपर्ने बाध्यता उस्तै रहनु सरकारका लागि गम्भीर प्रश्न हो ।
देश बनाउने र छोरा फर्काउने नारा लगाएर जनमत प्राप्त गर्ने तर युवालाई देशमै रोक्ने वातावरण निर्माण गर्न नसक्ने हो भने ती आकर्षक चुनावी प्रतिबद्धताको अर्थ के रह्यो ? आखिर युवाले भाषण होइन, रोजगारी खोजेका हुन्; आश्वासन होइन, आफ्नै देशमा सम्मानपूर्वक बाँच्ने आधार खोजेका हुन् । देशमा रोजगारी सिर्जना नगरी समृद्धिको सपना बाँड्नु र युवालाई विदेशिन बाध्य पारेर रेमिट्यान्सको हिसाब देखाउनु बीच ठूलो विरोधाभास छ ।
प्रचारको राजनीति कि जनताको समस्या समाधान ?
सरकारले विकास र परिवर्तनका ठूला सपना देखाएको थियो । जनताले पनि ती सपना पूरा हुने आशा गरेका थिए । तर सरकार बनेको आठ महिना बित्न लाग्दा पनि सडकको धुलो, फोहोर व्यवस्थापन, सार्वजनिक यातायात, खानेपानी, रोजगारी र दैनिक जनजीवनका समस्यामा अपेक्षित सुधार नदेखिए पछि आज प्रश्न उठ्नु स्वाभाविक हो ।
सहरको धुलो हटाउने, फोहोर व्यवस्थापन गर्ने, सार्वजनिक यातायात सुधार्ने र नागरिकलाई सहज जीवनयापनको वातावरण बनाउने काम सुशासनकै हिस्सा हुन् । यी विषयलाई साना समस्या ठानेर पन्छाउन मिल्दैन । जनताका लागि सरकारको सफलता यिनै दैनिक समस्याको समाधानबाट देखिन्छ ।
सरकारले ठूला योजना र आकर्षक प्रचार गर्न सक्छ । तर नागरिकले बिहान घरबाट निस्कँदा सडकमा धुलो कम भएको, सार्वजनिक यातायात सहज भएको, सरकारी कार्यालयमा सेवा छिटो पाएको र आफ्नो श्रमको उचित अवसर पाएको अनुभूति गर्नुपर्छ । जनताको जीवनमा परिवर्तन नआउने तर सरकारको प्रचार मात्र बढ्ने हो भने त्यसले जनताको विश्वास टिकाउन सक्दैन । किनभने लोकप्रियता क्षणिक हुन सक्छ, तर जनताको दैनिक समस्या दीर्घकालीन हुन्छन् ।
राज्य सञ्चालन “केटाकेटी आए गुलेली खेलाए” भनेजस्तो हुँदैन!
नेपालीमा एउटा उखान छ– “केटाकेटी आए, गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानास !” यो उखान कुनै व्यक्तिको उमेर वा नयाँपन माथिको टिप्पणी होइन । यसले अनुभव, जिम्मेवारी र परिपक्वताको महत्त्व बुझाउँछ ।
राज्य सञ्चालन कुनै बालखेल होइन । यहाँ आवेगमा निर्णय गरेर पछि सच्याउने सुविधा सधैँ हुँदैन । एउटा गलत निर्णयले नागरिकको अधिकार, सार्वजनिक सम्पत्ति, संस्थागत संरचना र देशको भविष्यमा असर पार्न सक्छ । नयाँ नेतृत्वले पुरानो नेतृत्वको गल्ती बाट सिक्नुपर्छ ।
तर पुरानालाई गाली गरेर मात्र नयाँ नेतृत्व परिपक्व हुँदैन । शासन सञ्चालनमा धैर्य, संवाद, सहमति, विधि र संस्थागत मर्यादा आवश्यक हुन्छ । वर्तमान बालेन नेतृत्वको सरकारले आफूलाई सबैभन्दा जान्ने, सबैभन्दा इमानदार र सबैभन्दा सक्षम ठान्ने प्रवृत्ति देश चल्दैन । लोकतन्त्रमा सरकार जनताको सेवक हो, मालिक होइन । सरकारका निर्णयमाथि प्रश्न उठ्नु लोकतन्त्रको कमजोरी होइन, लोकतन्त्र जीवित रहेको प्रमाण हो ।
पुराना दलको असफलताको विकल्प नयाँ दलको असफलता हुन सक्दैन:
पुराना स्थापित राजनीतिक दलले जनताको विश्वास गुमाउनुको कारण उनीहरूको कार्यशैली, भ्रष्टाचार, सत्तामोह र जनअपेक्षा प्रतिको उदासीनता थियो । जनताले त्यसको विकल्प खोजेका थिए । तर नयाँ शक्ति भनिनेले पनि उही गल्ती दोहोर्याउने हो भने त्यसले देशलाई थप निराश बनाउँछ ।
राजनीतिमा नयाँपनको अर्थ उमेर, अनुहार वा दलको नाम मात्र होइन । नयाँपन सोच, व्यवहार, निर्णय प्रक्रिया, जवाफदेहिता र परिणाममा देखिनुपर्छ ।
पुराना दलका नेताले गल्ती गर्दा आलोचना गर्ने नयाँ नेतृत्वले आफूले गल्ती गर्दा पनि आलोचना स्वीकार गर्न सक्नुपर्छ । अरूलाई पारदर्शिताको पाठ पढाउनेले आफ्ना निर्णयमा पनि पारदर्शिता देखाउनुपर्छ । अरूलाई कानुनको पालना गर्न सिकाउनेले आफैँ पनि कानुनको सीमाभित्र रहनुपर्छ । नत्र जनताले पुरानालाई हटाएर नयाँलाई ल्याउनुको अर्थ के रहन्छ ? एउटा असफलताको ठाउँमा अर्को असफलता थप्नु परिवर्तन होइन । नाम र अनुहार फेरिए पनि शासनको चरित्र उस्तै रहनु जनताका लागि अर्को धोका हो ।
आठ महिनामै किन खुम्चिँदै छ जनताको भरोसा ?
सरकारको आठ महिनाको अवधिलाई अन्तिम निष्कर्ष निकाल्ने पर्याप्त समय मान्न नसकिएला । कुनै पनि सरकारलाई काम गर्न समय चाहिन्छ । संरचनागत समस्या समाधान गर्न धैर्य र निरन्तरता आवश्यक हुन्छ । तर त्यसो भन्दैमा यत्रो समयसम्म सरकारलाई प्रश्न नगरी बस्नुपर्ने होइन ।
जनताले सरकारलाई काम गर्न पर्याप्त जनमत र अवसर दिएका छन् । अब सरकारले पनि जनतालाई परिणाम दिनुपर्छ । आठ महिनामै सबै समस्या समाधान हुनुपर्छ भन्ने होइन, तर सुधारको दिशा र मेलोमेसो स्पष्ट देखिनुपर्छ । भ्रष्टाचार नियन्त्रणमा निष्पक्षता, प्रशासनिक सेवा प्रवाहमा सुधार, कानुनको शासन स्थापित गर्ने व्यवहार, संसद् र संवैधानिक संस्थाको सम्मान तथा जनताका समस्या समाधान गर्ने स्पष्ट प्राथमिकता देखिनुपर्छ ।
सरकारले आलोचनालाई शत्रुता ठान्ने, प्रश्नलाई षड्यन्त्र भन्ने र असन्तुष्टिलाई पुराना दलको प्रभाव भनेर पन्छाइरहने हो भने जनताको विश्वास झन् कमजोर हुन्छ । जनताले सरकारको जयजयकार गर्न मत दिएका होइनन्, देशको अवस्था बदल्न मत दिएका हुन् ।
निष्कर्ष : जनताले सुशासन खोजेका थिए, निराशा होइन !
रास्वपा र बालेन्द्र शाह नेतृत्वको सरकारलाई जनताले पुराना राजनीतिक दलको असफलताको विकल्पका रूपमा एकपटक अवसर दिएका हुन् । त्यो अवसर सामान्य थिएन । सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र परिवर्तनको आशाले प्राप्त भएको असाधारण जनमत थियो ।
तर जनमत प्राप्त गर्नु र जनताको अपेक्षा पूरा गर्नु फरक कुरा हो । चुनाव जित्नु राजनीतिक सफलता हो, शासनमा सुशासन स्थापित गर्नु ऐतिहासिक जिम्मेवारी हो । सरकारले यो जिम्मेवारी पूरा गर्न सकेन भने त्यसको मूल्याङ्कन जनताले अवश्य गर्नेछन् ।
पुराना दलको असफलताले नयाँ नेतृत्वलाई स्वतः सफल बनाउँदैन । जनताको आक्रोशले सत्तामा पुर्याउन सक्छ, तर जनताको विश्वास कायम राख्न काम गर्नैपर्छ । सुशासनको नारा लगाएर मात्र सुशासन आउँदैन । भ्रष्टाचार विरुद्ध सामाजिक संजालमा चिच्याएर मात्र भ्रष्टाचार अन्त्य हुँदैन । कानुनको शासनको दाबी गरेर मात्र विधिको शासन स्थापित हुँदैन ।
अन्ततः जनताले खोजेको परिवर्तन कुनै नेताको लोकप्रियता, सामाजिक सञ्जालको चर्चा वा चुनावी नारामा सीमित होइन । जनताले भ्रष्टाचारमुक्त शासन, निष्पक्ष कानुन, सहज सार्वजनिक सेवा, रोजगारी, विकास र सम्मानजनक जीवन खोजेका थिए । त्यसैले प्रश्न आज पनि उही छ– सुशासनको सपना बेचेर सत्तामा पुगेको सरकारले जनतालाई सुशासनको अनुभूति कहिले गराउने ?




