शुक्रबार, मंसिर ११, २०८३
होटल व्यवसायी महासंघको स्थापना दिवसमा सेवा घरका ६५ ज्येष्ठ नागरिकलाई भोजन

धुलिखेल । होटल व्यवसायी महासंघ नेपालको १५औँ स्थापना दिवसको अवसरमा धुलिखेलस्थित मानव कल्याण समाज (सेवा घर) मा आश्रित ६५ जना ज्येष्ठ नागरिकलाई भोजन गराउनुका साथै खाद्यान्न सहयोग हस्तान्तरण गरिएको छ।

‘होटल व्यवसायीको सम्मान, पर्यटनको विकास हाम्रो अभियान’ भन्ने मूल नाराका साथ महासंघले मंसिर ११ देखि १७ गतेसम्म देशभर विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाइरहेको छ। सोही क्रममा मंसिर ११ गते सेवा घरमा भोजन तथा सहयोग कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा महासंघ नेपालका अध्यक्ष टी.आर. भण्डारी (शंकर) ले सेवा घरकी अध्यक्ष देविसुमी मानव (सुमित्रा चौलागाईं) लाई खाद्यान्न सहयोग हस्तान्तरण गर्नुभयो। उहाँले स्थापना दिवसको अवसरमा देशभरका होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई शुभकामना व्यक्त गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।

त्यस्तै, सेवा घरकी अध्यक्ष देविसुमी मानवले महासंघबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्नुभयो।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, प्रशासन (संगठन) उपाध्यक्ष ज्ञानबहादुर गजमेर, उपमहासचिव मित्रप्रसाद ढकाल, कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ, केन्द्रीय सदस्य तिलकप्रसाद चापागाईंसहित विभिन्न होटल व्यवसायी संघ तथा संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको संयोजन महासंघ नेपालका कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठले गर्नुभएको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय